बालेन सरकारलाई वामदेवको चेतावनी : कानुनी प्रक्रिया बिना गिरफ्तारी स्वीकार्य छैन

काठमाडौं,  २१ चैत्र  । पूर्वउपप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता वामदेव गौतम ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई खुलापत्र लेख्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली को हिरासतबारे गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई देशको ४३ औँ प्रधानमन्त्री बन्नुभएकोमा बधाई दिँदै गौतमले ओलीमाथि भएको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले अनुचित भएको टिप्पणी गर्नुभएको छ।

खुलापत्रमा उहाँले ७४ वर्षीय तथा शारीरिक रूपमा अस्वस्थ नेतामाथि अपमानजनक ढंगले हिरासतमा राखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो।

गौतमले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमको स्मरण गराउँदै तत्कालीन अवस्थामा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको उल्लेख गर्नुभएको छ। उक्त घटनामा १९ जनाको मृत्यु भएपछि आफूले तत्कालीन प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको पनि पत्रमा उल्लेख छ।

उहाँका अनुसार त्यसपछिको राजनीतिक प्रक्रियामा ओलीको राजीनामा, प्रतिनिधिसभा विघटन, सुशीला कार्की को मनोनयन तथा फागुन २१ को निर्वाचनसम्मका घटनाक्रममा ओलीको सकारात्मक भूमिका रहेको थियो।

तर अहिले उनै नेतालाई पर्याप्त कानुनी परीक्षण र ठोस प्रमाणबिनै बिहानै घर घेराउ गरी पक्राउ गरिनु लोकतान्त्रिक अभ्यासविपरीत भएको गौतमको जिकिर छ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका गौतमले कानुनी राज्यमा कुनै पनि व्यक्तिमाथि लागेको आरोप अदालतबाट प्रमाणित हुनुपर्ने र छानबिन प्रतिवेदनको निष्कर्षका आधारमा मात्र कारबाही अघि बढाउनुपर्ने बताउनुभएको छ।

खुलापत्रमा उहाँले लेख्नुभएको छ, “मृत्युदण्ड दिने देशहरूमा समेत दोषीलाई अन्तिम इच्छा सोधिन्छ, तर यहाँ परीक्षण नै नगरी रातारात घर घेरेर पक्राउ गर्ने शैली अपनाइएको छ।”

उहाँले वर्तमान सरकारलाई यो गल्ती सच्याउन, वृद्ध तथा अस्वस्थ राजनीतिक व्यक्तित्वलाई अनावश्यक सकस नदिन र न्यायपूर्ण तथा कानुनी प्रक्रियाअनुसार अघि बढ्न विशेष आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री बालेन शाहको कार्यकाल सफल रहोस् भन्ने शुभकामनासहित गौतमले कानुनी राज्यको मर्मअनुसार निर्णय लिन सुझाव दिनुभएको छ।

यो खुलापत्र सार्वजनिक भएसँगै ओलीको हिरासत र जेनजी आन्दोलन प्रकरण फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ।

सम्मननीय प्रधानमन्त्रीका नाममा खुल्लापत्र

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू !

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका रूपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यस सन्दर्भमा तपाईंलाई केही ध्यानाकर्षण तथा सुझाव दिने प्रयत्न गरेको छु ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत हासिल गर्न सकेनन् । बाध्यात्मक अवस्थामा मिलिजुली सरकार सञ्चालन गर्नुपर्ने अवस्था आयो ।

यस वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र दमन तथा राष्ट्रिय विध्वंशको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) को मिलीजुली सरकार थियो र प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो ।

भाद्र २३ को घटनामा त्यसै दिन १९ जना आन्दोलनकारीको मृत्यू भयो । त्यसपछि अरु धेरै व्यक्तिले घाइते अवस्थामा अस्पतालमै मृत्युवरण गरे । यो अत्यन्त दुखद र पीडादायी घटना बनिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु राम्रो हुन्छ भनेर अनुरोध गर्ने एकजना म पनि थिएँ । उहाँले राजीनामा दिनुभयो । त्यसपछि प्रतिनिधिसभा भंग गर्ने र सुशीला कार्कीलाई प्रधानमन्त्री मनोनयन गर्ने अवस्था भयो ।

त्यसपछि फागुन २१ गतेको निर्वाचन घोषणा भयो । यी सबै घटनामा सम्माननीय राष्ट्रपतिले पनि अत्यन्त सकारात्मक रुपमा भूमिका निर्वाह गर्नुभयो ।

आज तपाई नेपालको ४३ औं प्रधानमन्त्री बन्नु भएको छ । आजको अवस्थासम्म शान्तिपूर्ण रुपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरुमा प्रकारान्तरले केपी ओलीजीको पनि योगदान छ ।

प्रधानमन्त्रीज्यू,

म प्रश्न गर्न चाहन्छु कि, ७४ वर्षको बृद्ध अवस्थामा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई किन अपमानित हुने गरी हिरासतमा राख्नुहुन्छ ? उहाँलाई थुन्नका निम्ति जे-जे तथ्य जम्मा गरिएको छ, ती सबै अदालतबाट प्रमाणित भएपछि थुनेर कारबाही गर्नु भए हुन्न र ? हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यास अनुसार कुनै पनि घटनाका छानवीन प्रतिवेदन सरकार समक्ष पेश भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारवाही प्रक्रिया अगाडि बढ्ने हो ।

प्रधानमन्त्री ज्यू !

हाम्रो संविधानबमोजिम कसैलाई मृत्यूदण्ड दिइन्न । तर, संसारका अन्य राष्ट्रमा मृत्यूदण्ड दिने व्यक्तिलाई पनि अन्तिम इच्छा सोधिन्छ । केपी शर्मा ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने थियोे । त्यसो नगरी रातारात घर घेरेर, एकाविहानै पकाउ गर्ने शैली गलत थियो । म अनुरोध गर्दछु, ती गल्ती सच्याउनुहोला । एउटा वृद्ध, शारीरिक रुपमा पनि अस्वस्थ्य राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित छैन ।

अन्त्यमा यहाँको सफल र प्रभावकारी कार्यकालका निम्ति फेरि पनि शुभकामना व्यक्त गर्दछु ।

हार्दिक अभिवादन सहित,

वामदेव गौतम

– पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

– केन्द्रीय सदस्य, नेपाली कम्युनिष्ट पार्टी

२०८२/१२/२१

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार  १६ : ४५  बजे