काठमाडौं, १५ पुस । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाको विकल्प नभएको बताउँदै उक्त मुद्दा तत्काल फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन सर्वोच्च अदालतले मुद्दाको फैसला छिटो गर्नुपर्ने तर्क गर्नुभएको हो।
ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरा मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको तर्क गर्नुभयो । उहाँले अदालतले संसद् पुनःस्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राख्नुभयो । ओलीले भन्नुभयो, ‘हामी सर्वोच्च अदालतसमक्ष आग्रह गर्न चाहन्छौँ– देश अप्ठ्यारोमा भएका वेला अदालतले सुविस्तासँग काम गर्ने बाटो लिन मिल्दैन। देश अप्ठ्यारोमा छ भने अदालतले तीव्रताका साथ निर्णय दिनुपर्छ। फैसला दिनुपर्छ। प्रतिनिधिसभा पुनःस्थापना बाहेक अर्को बाटो नै छैन।’ अध्यक्ष ओलीले सर्वोच्च अदालतले उक्त फैसलामा ढिलाइ गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।








प्रतिक्रिया