काठमाडौं, १२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नेतृत्व र दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ। शनिबार (पुस १२) उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित एक कार्यक्रममा उहाँले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।
मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने बताउनुभयो । सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन,” उहाँले भन्नुभयो, “देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ । त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ ।”उज्यालो नेपाल पार्टीले देशभर आफ्ना संगठनात्मक संरचना विस्तार गर्दै लगेको उहाँले उल्लेख गर्नुभयो। सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदै छ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दै छ ।”कार्यक्रममा उनले राजनीतिक एकताका विषयमा आफ्नो धारणा स्पष्ट पारे । कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने उहाँले बताउनुभयो । नयाँ शक्तिले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।“एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन,” उनले भने, “सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो ।”
जनताको भावना र चाहना नयाँ शक्ति एकजुट भएको हेर्न चाहेको उहाले बताउनुभयो । जनताको इच्छा नयाँ राजनीतिक शक्ति एक होऊन् भन्ने भएकाले अहंकार त्यागेर साझा उद्देश्यका निम्ति एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।उहाँले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउनुभयो । घरमा बत्ती बाल्नेबित्तिकै ‘उज्यालो’को अनुभूति हुने भएकाले त्यसैलाई पार्टीको सन्देशका रूपमा गाउँगाउँसम्म पुर्याउन उहाले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,” उहाँले भन्नुभयो ।मन्त्री घिसिङले जनतामाझ उज्यालो पार्टीप्रति विश्वास बढ्दै गएको उल्लेख गर्नुभयो। “हामीसँग आमजनताको विश्वास छ,” उहाँले भन्नुभयो, “यो विश्वासलाई अझ बलियो बनाउँदै निर्धक्क भएर अघि बढ्नुपर्छ ।”कार्यक्रममा उज्यालो नेपाल पार्टीका विभिन्न नेता–कार्यकर्ता तथा समर्थकको उल्लेख्य उपस्थिति थियो ।









प्रतिक्रिया