काठमाडौँ, ११ पुस । अवस्था सामान्य बनेपछि सिन्धुली सदरमुकाम कमलामाई नगरपालिका क्षेत्रको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार बिहान ६ बजदेखि कर्फ्यू हटाइएको जानकारी दिएको हो। पुस ६ गते कमलामाई नगरपालिका–४ धुरा बजारमा आगजनीमा परेर एक महिलाको मृत्यु भएको घटनालाई लिएर स्थानियबासीबाट ढुंगामुढा तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधि भएको भन्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार साँझ कर्फ्यू आदेश जारी गर्नुभएको थियो । बिहीबार साँझ ८ः३० देखि सुरु भएको कर्फ्यू शुक्रबार बिहान ६ बजेसम्म जारी थियो। ६ बजेयता कर्फ्यू हटेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले अहिलेलाई सिन्धुलीको अवस्था सामान्य रहेको बताउनुभयो । यही पुस ६ गते सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भएको थियो। उनको परिवारकै सदस्य मिलेर हत्या गरेको भन्दै स्थानीय आक्रोशित छन्। घरभित्रै शरीरमा आगो लागेर सुशीलाको मृत्यु भएको घटना शंकास्पद देखिएपछि प्रहरीले उनकी सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनलाई नियन्त्रणमा लिएको छ। सो घटना हुँदा विदेशमा रहेका सुशीलाका श्रीमान् पनि अहिले घर आएका छन्। ससुरा दुर्गामान भने घाइते भएकाले उपचारमा छन्। कोठाभित्र आगलागी भएको सो घरमा मृतक सुशीलाका श्रीमान्, सासुकी दुईवटी बहिनीसहितका मानिस घरभित्र पसेपछि स्थानीय आक्रोशित भएर ढुंगा मुढा गरेका डीएसपी सुवेदीले जानकारी दिनुभयो ।
स्थानीयले उनीहरू घटनाका प्रमाण नष्ट गर्न र धनदौलत लिन घरमा आएको दाबी गर्दै ढुंगामुढा गरेका हुन्। उनीहरूले भने आफूहरू बच्चाको कपडा लिन घरभित्र पसेको बताएका छन्। बिहीबार साँझ घरभित्र छिरेका ती व्यक्तिलाई रेस्क्यु गर्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।त्यसक्रममा स्थानीयले घरमा तोडफोड गरेका छन्। मान्छेलाई भित्रै थुनेर आक्रमण गरेपछि कर्फ्यू लगाउनु परेको स्थानीय प्रशासनको भनाई छ।घरमा थुनेर बाहिरबाट आक्रमण हुन थालेपछि एक महिला अर्को घरमा हामफाल्दा घाइते भएकी छन्। घरमा मृतकका सासुका दुईवटी बहिनीसहितका मानिसलाई थुनेर स्थानीयले आक्रमण गरेका हुन्। त्यसक्रममा स्थानीयले एम्बुलेन्सलाई पनि जान नदिएका प्रहरीको भनाई छ । मृतक सुशीलाका तिम्ल्याहा बच्चा छन्। डीएसपी सुवेदीले घटनाको अनुसन्धान गम्भीर ढंगले भइरहेको बताउनुभयो।









प्रतिक्रिया