बालेनले थाले छुट्टै पार्टीमार्फत अघि बढ्ने गृहकार्य, एकैदिन, नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल

काठमाडौं, १०  पुस  ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाउनुभएको छ । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उहाँले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गर्नुभएको छ । यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गर्नुभएको थियो । छलफल आज पनि जारी रहने स्रोतले जनायो । बालेनसँग बुधबारको छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टलगायत केही सञ्चारकर्मीहरू सहभागी थिए । स्रोतका अनुसार छलफलमा नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकालसमेत सहभागी थिए । मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषी धमलासँग पनि बालेनले छलफल गरेको स्रोतको भनाइ छ ।

सामाजिक सन्जालमा कांग्रेस नेता चन्द्र भण्डारीले पनि बालेनलाई भेटेर छलफल गरेको कुराहरु सार्वजनिक भएका छन् तर भण्डारीले आफूले बालेनलाई नभेटेको संचारकर्मीसंग दावी गर्नुभएको छ ।नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले बुधबार राति बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गर्नुभयो । उहाले नयाँ शक्तिहरुलाई एकीकृत गरेर अघि बढ्न बालेनले प्रस्ताव गरेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘पुराना दलको विकल्पमा नयाँहरु एक भएर चुनावमा जाऔं भन्ने बालेनजीको प्रस्ताव थियो । हिजो एकसरो छलफल भयो ।

यस्ता छलफल निरन्तर अगाडि बढाउने कुरा छ ।’गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उहाँले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।बुधबार बालेनसँगको छलफलमा सहभागीहरुका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा देखिनुभएको छ । छलफलमा सहभागी स्रोतले भन्यो, ‘देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड बुझियो ।’देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल हुनुहुन्छ । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जित्नुभएको थियो।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  १० : १९  बजे