सिरहामा बालिका हत्याः ३ सातासम्म पत्ता लागेन दोषी

काठमाडौं, १० पुस ।  सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ ।गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो । घटनापछि हालसम्म मुख्य अभियुक्त पत्ता नलाग्दा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, छोरी गुमाएको पीडा त छँदै छ, तर दोषी नसमातिँदा झन् ठूलो अन्याय भएको महसुस भइरहेको छ । पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ताको आवाज कसैले सुन्दैन ।’स्थानीयका अनुसार बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

यस विषयमा कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, ‘तीन साता बितिसक्दा दोषीको पहिचान नहुनु गम्भीर विषय हो । दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ ।’जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान जारी रहेको बताउनुभयो । यस विषयमा उहाँले भन्नुभयो, ‘घटनाको प्रकृति गम्भीर भएकाले विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयासमा छौं ।’दोषी पक्राउको माग गर्दै स्थानीयले आन्दोलनसमेत गरेका थिए ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  ०८ : ११  बजे