काठमाडौं, ९ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले घायल अवस्थामा रहेको बताउनुभएको छ । आजदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै उहाँले अहिलेको सरकार संविधानले नचिनेको सरकार भएको बताउनुभयो। ‘अहिलेको सरकार संविधानले नचिन्ने, हामी सबैले मान्दै आएको सरकार हो, त्यसैले यो सरकारसँग केही गुनासो छैन, यो सरकारलाई भन्नु केही छैन,’ उहाँले भन्नुभयो । कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न पनि सरकार र गृह मन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिनुभयो।
कँडेलले निर्वाचनकालागि भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको बताउँदै भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको बताउनुभयो। ‘सुरक्षाकर्मी साथीहरू एक प्रकारले मनोवैज्ञानिक रूपमा त्रसित हुनुहुन्छ, उहाँलाई दिइएको हतियार परिआएमा प्रयोग गर्ने वा नगर्ने द्विविधा हुनुहुन्छ यस्तो अन्योल अवस्थामा निर्वाचनको वातावरण कसरी बन्न सक्ला ? ’ उहाँले भन्नुभयो । सबै दलले भाग लिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने बताउँदै उहाँले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पार्नुभयो । ‘दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन, निर्वाचन गराउने हो भने, दलहरूसँग सघन छलफल गर्नुहोस्,’ कँडेलले भन्नुभयो । जेनजीका नाममा समाजमा आतङ्क सृजना गरिएको बताउँदै मुख्यमन्त्री कँडेलले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने बताउनुभयो।
‘भदौ २३ गते युवाहरूले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन तर २४ गते भएको विध्वंस र आगजनी गर्ने माथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन,’ उहाँले भन्नुभयो । उहाँले कर्णालीमा सुरक्षाकर्मीहरूको पूर्वाधार र साधन श्रोतको अवस्था दयनीय रहेकोले पनि शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई परेको अप्ठ्यारो परेको बताउनुभयो । त्यस्तै कमजोर सडक पूर्वाधारका कारण दुर्घटना बढ्दै गएको उहाँले बताउनुभयो। कर्णाली हाइवेमा सुरक्षा पोष्ट सुरक्षा दिन नभएर असुली धन्धाका लागि राखिएको जस्तो भएको उहाँको धारणा छ।









प्रतिक्रिया