काठमाडौँ, ८ पुस। केही दिनयता तराई–मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहटका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ । वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस ७ देखि ९ गतेसम्म पठन–पाठन स्थगित गरिएको हो, जसको बिदा वर्षे सट्टे बिदाबाट कट्टा हुनेछ । पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक लेन्डरअनुसार बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गते आइतबारदेखि मात्र विद्यालय नियमित रूपमा सञ्चालन हुने बताइएको छ ।यसैगरी, पकहामैनपुर गाउँपालिकाले पनि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वर्षे बिदाबाट कट्टा हुने गरी पुस ८ र ९ गते दुई दिनका लागि जाडो बिदा दिएको छ । छिपहरमाई गाउँपालिकाले पुस ८ र ९ गते गरी दुई दिनका लागि जाडो बिदा दिएको जनाएको छ ।
एक सातायता तराई–मधेशमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा निर्भर व्यक्ति बढी प्रभावित भएका छन् ।यस्तै, बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द रहने छ ।बाराको सिम्रौनगढ नगरपालिकाले अत्यधिक चिसो बढेकाले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै नगरभित्रका सबै विद्यालयमा दुई दिन पठन–पाठन स्थगित गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार मिति पुस ७ गतेदेखि पुस ८ गतेसम्म सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा नियमित कक्षा सञ्चालन स्थगित गरिएको छ ।यस्तै, रौतहटमा गौर नगरपालिकाले बढ्दै गएको चिसोका कारण नगरपालिकाभित्र सञ्चालनमा रहेका निजी तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ । बिगत केही दिनदेखि तराईमा अचानक बढेको चिसोका कारण विद्यालयमा अध्यनरत बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सकिने भन्दै नगरपालिकाले पुस ८ गते मंगलबार देखि शुक्रबारसम्म सार्वजनिक बिदा दिएको हो ।









प्रतिक्रिया