काठमाडौँ, ६ पुस । जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी ढुंगाना समूहले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम घोषणा गरेको हो ।
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने बताउनुभयो ।
‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’
सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने उहाँले बताउनुभयो ।‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनुहुन्छ ?’ ढुंगानाले भन्नुभयो।







प्रतिक्रिया