काठमाडौं, २२ असोज । देशका केही भूभागमा आज चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको छ । बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ, असिना र हिमपातसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा र हिमपात हुनसक्नेछ ।
मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।











प्रतिक्रिया