काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिले पनि खुलामञ्चबाटै मतदान गर्नेछन् ।
कांग्रेसको सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
चार उपसभापति पदमध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ ।
समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।
तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार हुनुहुन्छ ।
महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनालबीच प्रतिस्पर्धा हुँदैछ ।











प्रतिक्रिया