काठमाडौं, २१ असोज । पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक हित तथा नैतिकताविरुद्धको कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ का ३० वर्षीय ओसिम अन्सारी र सोही ठाउँकी ३१ वर्षीया प्रियङ्का परियार रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज १८ गते पशुपति मन्दिर अगाडि ‘प्रियंका सनी’ नामक टिकटक अकाउन्टबाट सार्वजनिक भएको भिडियोबारे पशुपति क्षेत्र विकास कोषमा उजुरी परेको थियो । उजुरीमा पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ६.१ विपरीत कार्य भएको उल्लेख थियो ।
उजुरीका आधारमा प्रहरी वृत्त गौशालाले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले असोज २० गते साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय इटहरीको सहयोगमा उनीहरूलाई इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज २० गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप अनुमति दिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।











प्रतिक्रिया