काठमाडौं, २० असोज । नेकपा एमालेले पार्टीभित्रको अनुशासन पुनर्स्थापना र आन्तरिक एकता सुदृढ गर्ने उद्देश्यले विगतका अभिव्यक्ति तथा गतिविधिलाई यहीँबाट ‘कटअफ’ गर्ने नीति लिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज ५ देखि ८ गतेसम्म ललितपुरको रामबाग पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णय कार्यान्वयनका लागि जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानी–३) मा विगतका गतिविधिलाई अब नकोट्याउने उल्लेख गरिएको हो।
एमालेले पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गर्न केन्द्रीय कमिटीको तेस्रो बैठकलाई ‘कटअफ बैठक’का रूपमा लिएको छ।
अपानी–३ मा ‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने’ नीति लिइएको उल्लेख छ। यससँगै विगतमा देखिएका कतिपय असमझदारी र अस्वस्थ गतिविधिलाई यही बैठकबाट अन्त्य गरिएको एमालेले जनाएको छ।
तर अबदेखि पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान वा गुटबन्दी गर्ने गतिविधि भएमा भने स्पष्टीकरण सोधिने र कारबाहीको दायरामा ल्याइने चेतावनी एमालेले दिएको छ।
पार्टीको निर्णय तथा नेतृत्वविरुद्ध अनुशासनहीन गतिविधि गर्नेहरूमाथि कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिएको छ। साथै, केन्द्रीय अनुशासन आयोगलाई थप सक्रिय बनाउने निर्णयसमेत गरिएको छ।
एमालेले नयाँ चरणमा पार्टीभित्र अनुशासन र एकतालाई प्राथमिकतामा राख्दै पार्टीका नीति, निर्णय तथा नेतृत्वप्रति जिम्मेवार व्यवहार गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।











प्रतिक्रिया