सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना चुहावटको आरोप

काठमाडौं, १९ असोज । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासम्बन्धी सूचना चुहावट गरेको आरोपमा उनलाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेलगत्तै दाहाल टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो।

मन्त्रालय स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई निलम्बन गर्ने निर्णय गरेको हो। निर्णयको जानकारी गृह मन्त्रालयमार्फत सशस्त्र प्रहरी मुख्यालय पठाइएको जनाइएको छ।

सरकारले राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपुछ गर्ने तयारी गरेको थियो। विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको आरोपमा प्रधानमन्त्री सचिवालयको निर्देशनमा उनलाई पक्राउ गरिएको स्रोतको दाबी छ।

निलम्बित एआईजी दाहाल राणाका नातेदारसमेत हुन्। गृह मन्त्रालयले पक्राउको सूचना पाएपछि राणालाई भेट्न जानुपर्ने कारणबारे दाहालसँग सोधपुछ गरेको थियो। दाहालले पारिवारिक व्यक्ति भएकाले परिवारबाट पक्राउको खबर पाएपछि भेट्न गएको जवाफ दिएको स्रोतले जनाएको छ।

यद्यपि, राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले पक्राउसम्बन्धी सूचना दाहालबाटै चुहावट भएको दाबी गर्दै आएको थियो।

दाहाल निलम्बनमा परेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पनि पुष्टि गरेका छन्। उनले निलम्बनको प्रक्रिया पहिल्यै अघि बढाउने तयारी भए पनि विधिसम्मत प्रक्रिया पूरा गर्दा केही ढिला भएको बताएका छन्।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  २० : ५४  बजे