देश बाहिर देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्न सक्छ : गगन थापा

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट देखिएजस्तो शान्त नरहेको बताउनुभएको छ। जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश बढ्दै गएकाले जुनसुकै बेला ठूलो रूप लिन सक्ने उहाँले चेतावनी दिनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा जारी बन्दसत्रमा बोल्दै सभापति थापाले दुई तिहाइ बहुमतको सरकार रहेकाले मुलुक सामान्य अवस्थामा देखिए पनि जनताको असन्तुष्टि गहिरिँदै गएको विश्लेषण सुनाउनुभएको हो।

“अहिले मुलुक बाहिरबाट हेर्दा शान्त छ। चुनाव भएको छ, सरकार छ, दुई तिहाइको बहुमत छ, प्रतिपक्षी दल पनि छन्। सबै ठीकठाक देखिन्छ। तर यस्तो होइन,” उहाँले भन्नुभयो।

पूर्वी तराईमा हालै देखिएको साम्प्रदायिक तनावको घटनालाई उदाहरण दिँदै उहाँले सानो घटनाले पनि ठूलो तनाव निम्त्याउन सक्ने अवस्था रहेको बताउनुभयो।

“नेपाल समाज अहिले धेरै बेचैन छ। ठूलो फ्रस्टेसन र असन्तुष्टि छ। चुनाव भयो, नयाँ पार्टी आएको छ, सबै ठीकठाक देखिएको छ। तर असन्तुष्टिका कारण सम्बोधन नभएकाले कुनै पनि बेला जनउभार आउन सक्छ। यो नेपाली कांग्रेसको विश्लेषण हो,” उहाँले भन्नुभयो।

समाजमा विद्यमान असन्तोषका कारण पहिचान गरी त्यसलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ। रोजगारीका अवसरको खोजीमा नेपाली नागरिक विदेश जाने क्रम अझै नघटेको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारी र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

नेपालका बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा पैसा थुप्रिएको उल्लेख गर्दै उहाँले त्यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न लगानीको वातावरण निर्माण आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  २० : ३९  बजे