रौतहट, १९ असोज । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । दुर्घटनापछि घाइते अवस्थामा भेटिएका कविलासी नगरपालिका–३, मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट प्रहरीले ‘सिक्सर’ पेस्तोल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आईतवार राति करिब १ बजे जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक ठाकुर घाइते भएका थिए ।
उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते ठाकुरको खानतलासी गर्दा उनको साथबाट एक थान ‘सिक्सर’ पेस्तोल फेला पारेको थियो । हतियार बरामद भएपछि प्रहरीले ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
पेस्तोल कहाँबाट ल्याइएको हो, त्यसको उद्देश्य के थियो तथा उनी अन्य कुनै आपराधिक गतिविधिमा संलग्न थिए/थिएनन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











प्रतिक्रिया