सिंहदरबारमा चार मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको आकस्मिक मन्थन : पुनर्निर्माणलाई तीव्रता दिइने

काठमाडौं, १९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उहाँले सरकारले कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभयो ।

बैठकमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, बाग्मतीका मुख्यमन्त्री किरण थापामगर, मधेशका मुख्यमन्त्री कृष्ण यादव र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको सहभागिता थियो ।

‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भन्नुभयो । उहाँले भोटेकोशी–त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढीपहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि उल्लेख गर्नुभयो । साथै, सरकारले हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १४ : १७  बजे