काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदैछन्। कांग्रेसको इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा प्रतिनिधि सहभागी भएको जनाइएको छ।
प्रतिनिधिहरूको समूहगत छलफलका लागि खुलामञ्चमा हिमाल, पहाड र तराई–मधेश नामका तीनवटा ठूला हल निर्माण गरिएको छ। प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसले यसपटक महाधिवेशनको प्रचारशैलीलाई मितव्ययी र वातावरणमैत्री बनाएको जनाएको छ।
महाधिवेशनमा भौतिक ब्यानर र पर्चा निषेध गरी काठमाडौंका १ सयभन्दा बढी डिजिटल बोर्डमार्फत सूचना प्रवाह गरिएको छ।
महाधिवेशनले २३२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। विधान संशोधनमार्फत ३५ वर्षमुनिका युवाको सहभागिता, महिलाको एकतिहाइ प्रतिनिधित्व तथा विभिन्न पेशागत क्षेत्रका विज्ञहरूको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।
यसैबीच कांग्रेसले पदाधिकारीको संख्या १७ बाट बढाएर २१ पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको प्रस्ताव बन्दसत्रमा पेश हुनेछ।
प्रस्तावअनुसार एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। हाल दुई जना रहेको उपसभापतिको संख्या चार तथा ११ जना रहेको सहमहामन्त्रीको संख्या १३ पुर्याउने प्रस्ताव गरिएको छ।
चारै जना उपसभापति निर्वाचनबाट चयन गर्ने प्रस्तावमा एक जना वरिष्ठ र एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। प्रस्ताव महाधिवेशन प्रतिनिधिबाट पारित भएपछि नयाँ संरचनाअनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन तालिकाअनुसार सोमबार राष्ट्रियसभा गृहमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ। महाधिवेशन प्रतिनिधिहरूका लागि आवास, निःशुल्क पार्किङ तथा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ।











प्रतिक्रिया