काठमाडौं,१७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उहाँले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरेको उहाँले बताउनुभएको छ। दूरदराजमा रहेका नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उहाँको भनाइ छ।
लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लभिङ’ गरेको स्मरण गर्दै उहाँले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ।
उहाँले कांग्रेसलाई जनतासँग जोड्ने, सामान्य नागरिकका समस्या सम्बोधन गर्ने र पार्टी निर्माणमार्फत देश निर्माणको अभियानमा आफूले काम गर्ने बताउनुभएको छ। साथै, महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभएको छ।
डा. शर्मा मोरङ–३ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। त्यसअघि उहाँ बेलबारी नगरपालिका–४ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको थियो।
शर्मा २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ।











प्रतिक्रिया