गगनको अधिवेशनमा सहभागीहरू पनि गल्ती भएको भन्दै हामीतिर खुल्दैछन् : देउवा समूह

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा सहभागी भएका नेता–कार्यकर्ता पनि पछिल्लो समय आफ्नो समूहको अधिवेशन प्रक्रियामा जोडिन थालेको दाबी गर्नुभएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशभर पार्टीका नेता–कार्यकर्ता स्वतःस्फूर्त रूपमा आफूहरूले गराएको अधिवेशन प्रक्रियामा सहभागी भइरहेको दाबी गर्नुभयो।

प्रतिकूल परिस्थितिका बाबजुद नेता–कार्यकर्ता आफ्नै खर्चमा जिल्ला तथा वडा तहमा भेला र गतिविधिमा सहभागी भइरहेको उहाँले बताउनुभयो। धेरै ठाउँमा अपेक्षाभन्दा बढी सहभागिता भइरहेको र सौहार्दपूर्ण वातावरण रहेको उहाँको दाबी छ।

पार्टीको विशेष अधिवेशनमार्फत कांग्रेसलाई बिथोल्ने प्रयास भएको दाबी गर्दै उहाँले त्यसको विरोधमा नेता–कार्यकर्ता उभिएको बताउनुभयो। स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सांसद तथा प्रदेश सांसदलाई विभिन्न किसिमका दबाब दिइएको आरोपसमेत उहाँले लगाउनुभयो।

विशेष अधिवेशन प्रक्रियामा सहभागी भएका केही नेता–कार्यकर्ता पनि पछिल्लो समय आफूहरूको अधिवेशन प्रक्रियामा वडादेखि नै सहभागी हुन थालेको उहाँले दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “अरू धेरै साथीहरू पनि भ्रममा परेर उताको अधिवेशनमा सहभागी भएका साथीहरू पनि फटाफट, होइन हामीले त यो गलत गरेछौँ भनेर हाम्रो यो अधिवेशनको प्रक्रियामा वडादेखि नै संलग्न हुन थाल्नुभएको छ।”

पार्टीका मूल आदर्श, मूल्य र मान्यताको पक्षमा आफूहरू उभिएको जिकिर गर्दै महतले अदालतबाट समेत न्याय पाउने विश्वास व्यक्त गर्नुभयो। कांग्रेसले बोकेको बीपी विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल मान्यताबाट विशेष महाधिवेशन पक्षधर नेतृत्व टाढिँदै गएको आरोप पनि उहाँले लगाउनुभयो।

शेरबहादुर देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएको र उहाँ नै १५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने उहाँले बताउनुभयो। देशभर पार्टीका नेता–कार्यकर्ता स्वतःस्फूर्त रूपमा आफ्नो अभियानमा जुटिरहेको उहाँको दाबी छ।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार  १५ : ५०  बजे