भूमि प्रशासन कार्यालय ललितपुरका तीन नासु तीन लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, १६ साउन । ललितपुरस्थित भूमि प्रशासन कार्यालयका तीन नायब सुब्बा (नासु) तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय ललितपुरका नासु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्।

उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट शुक्रबार घुसबापत लिएको तीन लाख रुपैयाँसहित पक्राउ गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार जग्गाको बकसपत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा टंगालस्थित अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ नगदसमेत बरामद भएको अख्तियारले जनाएको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार  १२ : ४९  बजे