अफिम र गाँजासहित तीन जना पक्राउ

काठमाडौं, १५ साउन । प्रहरीले रुकुम पश्चिम र कास्कीबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा प्रहरीले ३ किलो अफिम (चोप) सहित दुई जनालाई पक्राउ गरेको हो । आठबिसकोट क्षेत्रमा अफिम कारोबार भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले आठबिसकोट–३ का २८ वर्षीय टिकराम बोहरा र आठबिसकोट–२ का २० वर्षीय गणेश ओलीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले खुकुरी प्रहार गर्न खोजेपछि चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरिएको थियो । उनीहरूको साथबाट ३ किलो अफिम, दुई थान मोबाइल र तीन थान खुकुरी बरामद गरिएको छ ।

यस्तै, कास्कीको पोखरा महानगरपालिका–३२ बाट ५ किलो ४५० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् । प्रहरीले बिक्रीका लागि पोखरा ल्याउँदै गरेको अवस्थामा मकवानपुर हेटौँडा उपमहानगरपालिका–८ की ३२ वर्षीया ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  २० : २१  बजे