गृहमन्त्री पुग्नुअघि गोलबजारमा तनाव, सुरक्षाकर्मीका गाडी घेराउ

काठमाडौं, १५ साउन । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरअगाडि शुक्रबार स्थानीय र सुरक्षा निकायबीच तनाव उत्पन्न भएको छ।D

गृहमन्त्री सुदन गुरुङ मृतक परिवारलाई भेट्न जाने भएपछि सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधनलाई स्थानीयले मृतकको घरअगाडि घेराउ गर्दै विरोध जनाएका छन्।

सुनसरीको देवानगन्ज घटनाको विरोधमा बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको थियो।

यादवको मृत्युको विरोधमा स्थानीय आक्रोशित छन्। उनीहरूले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शनमा सहभागी केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै तत्काल रिहाइको माग गरेका छन्।

स्थानीयले पक्राउ परेकाहरूलाई रिहा गर्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गर्दै विरोध जारी राखेका छन्।

गृहमन्त्री गुरुङ मृतक परिवारसँग भेट गरी घटनाबारे जानकारी लिने तयारीमा छन्। उनको आगमनअघि नै स्थानीय र सुरक्षाकर्मीबीच तनाव बढेपछि सम्भावित अप्रिय घटना रोक्न घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  १८ : ०९  बजे