धनुषामा कर्फ्यु आंशिक खुकुलो, अत्यावश्यक सामग्री किन्न दुई घण्टा समय

जनकपुरधाम, १५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कर्फ्युलाई सर्वसाधारणको सुविधाका लागि शुक्रबार बिहान दुई घण्टा आंशिक रूपमा खुकुलो बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सूचना जारी गर्दै बिहान ६ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यु खुकुलो पारिएको जानकारी दिनुभएको छ ।

यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न पाउनेछन् । प्रशासनले तोकिएको समयभित्र सामान खरिद गरी घर फर्कन र कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

कर्फ्यु कायम रहे पनि स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री तथा बिरामीलाई परिचयपत्रका आधारमा आवागमनको सुविधा दिइएको छ । यस्तै, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्‍याउन जाने व्यक्तिलाई पनि परिचयपत्रका आधारमा आवागमन गर्न दिइने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  ०७ : ३१  बजे