काठमाडौं, १३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको देवानगञ्जमा उत्पन्न तनावबारे कुनै औपचारिक निर्णय नगरी विभिन्न विधेयक र प्रशासनिक निर्णयलाई स्वीकृति दिएको छ।
बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधा, खानी तथा खनिज, राहदानी, मानव बेचबिखन नियन्त्रण, बालश्रम, संक्रामक पशुरोग नियन्त्रण, आन्तरिक वायुसेवा, मेलमिलाप तथा कर्मचारी सञ्चय कोषसम्बन्धी गरी नौ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेटराज दाहाललाई मनोनयन गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकपछि सञ्चारकर्मीले सुनसरी घटनाबारे सरकारको धारणा सोध्न खोजे पनि प्रवक्ता पोखरेलले त्यसबारे प्रतिक्रिया नदिई कार्यक्रमस्थलबाट बाहिरिनुभएको थियो।







प्रतिक्रिया