काठमाडौंमा एक लाख २० हजार क्याप्सुल लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दीपक राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट नेपालमा लागुऔषध भित्र्याएर बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ‘डामाडोल’ नामक एक लाख २० हजार क्याप्सुल लागुऔषध, टाटा कम्पनीको बा.प्र.०१–००६ ख ७०१७ नम्बरको सवारीसाधन, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ०९ : ०२  बजे