काठमाडौं, १३ साउन । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज खोल्ने भएकाले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन् ।
एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुलाले सिल्ट सफाइका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताउनुभएको छ ।
आज बाँध खोलेपछि भोलि बेलुका ६ बजेसम्म सिल्ट सफाइको काम हुनेछ । यो अवधिमा महाकाली नदीमा जलस्तर बढ्ने हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन यसअघि प्रशासनबाट निर्देशन भैसकेको छ ।







प्रतिक्रिया