धनकुटामा ट्रक दुर्घटनापछि आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं, १२ साउन । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि आगलागी भएको हो।

दुर्घटनापछि ट्रकको अगाडिको भागमा लागेको आगोमा परी भोजपुरका ३० वर्षीय चालक विशाल राई गम्भीर घाइते हुनुभएको थियो। ट्रकबाट बाहिर निस्कन सफल भए पनि अत्यधिक जलेका कारण उहाँको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्रकका १८ वर्षीय सहचालक सञ्जीव सङ्गौला भने सकुशल रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उद्धार तथा अनुसन्धान थालेको छ। दुर्घटना र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  ०९ : ४५  बजे