काठमाडौं, ११ साउन । सरकारसँग सात बुँदे सहमति भएपछि चिकित्सक डा. गोविन्द केसीले धनगढीमा जारी अनसन अन्त्य गर्नुभएको छ। उहाँले अस्पतालमा बिरामी कुरुवा बसेका चक्रबहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नुभएको हो।
सरकारी वार्ता टोलीसँग भएको सहमतिमा गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राख्दै ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाउने उल्लेख गरिएको छ।
सहमतिअनुसार विश्वविद्यालयमा एमबीबीएससहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राध्यापक, जनशक्ति, पाठ्यक्रम स्वीकृति र पूर्वाधार तयारी शीघ्र पूरा गरिनेछ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण खरिद र अन्य व्यवस्थापन पनि तत्काल गरिने प्रतिबद्धता जनाइएको छ।
यस्तै, विश्वविद्यालयसम्बन्धी कानुन संशोधन गरी पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्ने प्रस्ताव संघीय संसद्को चालु अधिवेशनभित्र अघि बढाइने सहमति भएको छ।
चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक बनाउने व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छ महिनाभित्र उच्चस्तरीय कार्यदल गठन गर्ने प्रस्ताव सरकारसमक्ष पेश गर्ने सहमति पनि भएको छ।
वार्तापछि डा. केसीले अनसन अन्त्य गर्नुभएको हो भने सहमतिका बुँदाहरू कार्यान्वयन गर्न सरकारले प्रतिबद्धता जनाएको छ।









प्रतिक्रिया