महाधिवेशनपछि पहिलो पटक बस्दै रास्वपाको केन्द्रीय समिति, चार एजेण्डामा छलफल हुने

काठमाडौं, ११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी साउन १३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको पहिलो महाधिवेशन सम्पन्न भएपछि बस्न लागेको यो पहिलो केन्द्रीय समिति बैठक हुनेछ।

पार्टी सचिवालयका अनुसार बैठक वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

महासचिव विपिन आचार्यका अनुसार बैठकमा मुख्य रूपमा चार विषयमा छलफल हुनेछ। बैठकले हालै सम्पन्न महाधिवेशनको समीक्षा गर्ने, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन गर्ने, सांगठनिक व्यवस्थापन र मनोनयनसम्बन्धी निर्णय गर्ने तथा आगामी अभियान र कार्यक्रम तय गर्ने एजेण्डा राखेको छ।

रास्वपाले पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेपछि विभिन्न सांगठनिक संरचना र आगामी कार्ययोजनालाई व्यवस्थित गर्न यो बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  २१ : ०७  बजे