काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाउँदै उहाँको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ। उहाँको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेबेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा सरुवा गरिएको छ। उहाँको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
यस्तै, सशस्त्र प्रहरी बलका एसपी श्यामकुमार कार्कीलाई प्रधान कार्यालय फिर्ता बोलाएर उहाँको स्थानमा एसपी लवकुमार सापकोटालाई खटाइएको छ। सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाई उहाँको स्थानमा डीएसपी मदननाथलाई पठाइएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा एक जनाको मृत्यु भएको थियो भने ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन्।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
घटनापछि थप अप्रिय अवस्था हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।







प्रतिक्रिया