काठमाडौं, ११ साउन । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
पवित्र श्रावण सोमबारको अवसरमा स्नानका लागि गइरहेका युवा ओमप्रकाश मेहताको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै हमालले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, घाइते सबैको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गर्नुभएको हो । उहाँका अनुसार भीड व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले संयम अपनाउँदै प्रचलित विधि, मापदण्ड र गैर–घातक उपकरणहरूको अधिकतम प्रयोग गर्नुपर्नेमा त्यसो हुन नसक्नु राज्य संयन्त्रको गम्भीर असफलता हो ।
उहाँले सुरक्षा निकायको कार्यशैलीको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्ने भन्दै पदमा बसिरहनुको कुनै औचित्य नरहेको बताउनुभएको छ । साथै, घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभएको छ ।







प्रतिक्रिया