काठमाडौं, साउन ११ । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले लोकसेवा आयोगको विज्ञापन र परीक्षा तालिका नियमित रूपमा सञ्चालन गर्न तथा पदपूर्ति प्रक्रिया नरोक्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीहरूले “पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ”, “लोकसेवाको अधिकार खोस्न पाइँदैन”, “विज्ञापन र परीक्षा तालिका समयमै सञ्चालन गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।
उनीहरूले ४ साउनमा मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकको बुँदा नम्बर ११ खारेज गर्न, करार सेवामा रहेका उत्कृष्ट १० प्रतिशत कर्मचारीलाई स्पष्ट र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गरी बाँकी ९० प्रतिशत पदमा लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन्।
त्यसैगरी, लोकसेवा आयोगको विद्यमान उमेरहद यथावत् राख्न र आयोगको संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक भर्ना प्रणाली सुनिश्चित गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्।







प्रतिक्रिया