काठमाडौं, ११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला सुरूङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू भएको बताउनुभएको छ।
सोमबार आयोजित सुरूङमार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन भौगोलिक अवस्थाका बाबजुद नेपालले पहिलो आधुनिक सडक सुरूङमार्ग सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गर्दै राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए महत्वाकांक्षी पूर्वाधार आयोजना पनि सफलतापूर्वक सम्पन्न गर्न सकिने बताउनुभयो।
सचिव सिग्देलले नागढुंगा सुरूङमार्ग नेपालमा सुरूङ पूर्वाधार विकासको प्रारम्भ मात्र भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार आयोजना निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, हिमाली भू–संरचना तथा कोभिड–१९ महामारीजस्ता चुनौतीबीच संयुक्त रूपमा काम गर्दै परियोजना सफलतापूर्वक सम्पन्न गरेका हुन्। यस प्रक्रियाले नेपाली प्राविधिक जनशक्तिलाई हिमाली सुरूङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव समेत दिलाएको उहाँको भनाइ छ।
सचिव सिग्देलले सुरूङमार्ग सञ्चालनमा आएपछि सिस्नेखोला–बलम्बुबीचको यात्रा केही मिनेटमै पूरा हुने, वर्षौंदेखि यात्रुले भोग्दै आएको ट्राफिक जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले नागढुंगा क्षेत्र काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि राष्ट्रिय सडक सञ्जालकै सबैभन्दा बढी जाम र जोखिम हुने खण्डमध्ये एक रहेको उल्लेख गर्दै सुरूङमार्गले त्यसको दीर्घकालीन समाधान गर्ने बताउनुभयो।
सचिव सिग्देलले आयोजना निर्माणमा सहयोग पुर्याएको जापान सरकारप्रति आभार व्यक्त गर्दै सुरूङमार्गको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापनमा मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यस आयोजनाबाट नेपाली नागरिकले दीर्घकालसम्म लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो।







प्रतिक्रिया