सुनसरीमा तनाव चर्कियो, कर्फ्यूबीच नेपाली सेना परिचालन

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा उत्पन्न तनाव नियन्त्रणबाहिर जान थालेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू जारी रहेकै अवस्थामा आगजनी, तोडफोड र प्रदर्शन जारी भएपछि सेना ब्यारेकबाट परिचालन गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन भइरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बख्तरबन्द गाडीसहित सेनाको टोली कप्तानगञ्ज पुगेको छ।

आइतबार राति दुई समुदायबीच उत्पन्न विवाद हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएका छन्।

घटनापछि देवानगञ्ज, हरिनगर, लौकही तथा सदरमुकाम इनरुवालगायत क्षेत्रमा प्रदर्शन चर्किएको छ। कर्फ्यूका बाबजुद समूह–समूहमा स्थानीय सडकमा उत्रिएर टायर बाल्दै प्रदर्शन गरिरहेका छन्।

सुरक्षा चुनौती बढ्दै गएपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा दंगा नियन्त्रणका विशेष टोली पनि सुनसरीमा परिचालन गरिएको छ।

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील बन्न नदिन प्रदेशभरबाट थप सुरक्षाकर्मी झिकाएर सुरक्षा व्यवस्था सुदृढ पारिएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा नलाग्न आग्रह गरेको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  १४ : १३  बजे