काठमाडौं, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानका अनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपाली रहेको खुलेको प्रहरीले जनाएको छ।
घटनास्थलमा ठूलो मात्रामा रगत फेला परेको छ। घटनापछि मृतकसँगै रहेकी एक महिला सम्पर्कविहीन भएपछि उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गर्नुभएको छ। प्रहरीले घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण संकलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धानलाई तीव्रता दिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्ट पनि अनुसन्धानमा परिचालित हुनुहुन्छ। हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष पनि घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय तथा आवश्यक सहयोगमा जुट्नुभएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। मृत्युको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा घटनाको प्रकृतिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया