तीन दिन मनसुन कमजोर, भारी वर्षाको सम्भावना न्यून

काठमाडौं, १० साउन । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मनसुन अपेक्षाकृत कमजोर रहने जनाएको छ। विभागका अनुसार आइतबार, सोमबार र मंगलबार अधिकांश स्थानमा छिटफुटदेखि मध्यम वर्षा भए पनि व्यापक वा भारी वर्षाको सम्भावना न्यून रहनेछ।

आज हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम केही बढी सक्रिय हुने विभागले जनाएको छ।

यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आगामी २४ घण्टाभित्र भारी वर्षा हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्र, साथै कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मंगलबार भने कोशी र बागमतीका पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १५ : ४४  बजे