काठमाडौं, ५ वैशाख । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् ।भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आगामी सोमबार काठमाडौं आउन लागेको बताइएको छ ।काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपुरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ । समाचारमा लेखिएअनुसार कपुर वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार सोही विमानमार्फत फर्किने छन् ।
यद्यपि यो भ्रमणको औपचारिक घोषणा भएको छैन । परराष्ट्र मन्त्रालयले पनि यसबारे यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी दिएको छैन ।
यदि उनी समाचारमा भनिएजस्तै सोमबार काठमाडौं आए भने बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुनेछन् ।







प्रतिक्रिया