योग, ध्यानका लागि खुलामञ्च खुला

काठमाडौं, ३ वैशाख । काठमाण्डौको खुलामञ्च आजदेखि सबैका लागि खुला भएको छ ।

काठमाण्डौ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले बिहान ६ बजेदेखि १० बजेसम्म खुलामञ्च सबैका लागि खुला गरिएको बताउनुभएको हो । अन्तर्राष्ट्रिय आरोग्य दिवस तथा नयाँ वर्षका अवसरमा बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म योग, ध्यान र साउण्ड हिलिङका लागि खुलामञ्च खुला गरिएको उहाँले जानकारी दिनुभएको छ ।

शारीरिक र मानसिक सन्तुलन कायम गर्न योग र ध्यान निकै महत्त्वपूर्ण भएकाले यसको लागि खुला ठाउँहरू घट्दै गएकाले त्यसको पहिचान गरी संरक्षण गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको डंगोलले बताउनुभएको छ ।

खुलामञ्च साढे २ वर्षपछि खुला भएको हो । सबैका लागि खुला गर्नुपर्ने आवाज उठ्न थालेपछि सर्वसाधारणका लागि खुला गरिएको काठमाण्डौ महानगरपालिका(२७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभएको छ ।

केही महिनाअघि खुलामञ्च दुबो रोपेर हरियाली बनाइएपछि सर्वसाधारणका लागि खुला गरेर केही समयमै बन्द भएको थियो । काठमाण्डौ महानगरपालिकाले यसलाई फेरि पहिले जस्तै पार्कको रूपमा विकास गरी मर्निङवाक, व्यायामका लागि खुला गरेको हो ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  १३ : १२  बजे