सुनबारे फैलिएको ट्रोलमा सांसद तामाङको स्पष्टीकरण : “मसँग २५० रुपैयाँको फुली मात्रै”

काठमाडौं, ३० चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा तीव्र बहस र आलोचना सुरु भएको छ। विशेषगरी मन्त्रीहरूको सम्पत्तिमा उल्लेख गरिएको सुन तथा गहनाबारे विभिन्न टिप्पणी र व्यंग्यात्मक पोस्टहरू सार्वजनिक भइरहेका छन्।

यसैबीच रास्वपाकी सांसद आशिका तामाङ को तस्वीरलाई लिएर सामाजिक सञ्जालमा फैलिएको ट्रोलप्रति उहाँले स्पष्टीकरण दिनुभएको छ।

सामाजिक सञ्जालमा आशिका तामाङको तस्वीरलाई सुनका गहनाले भरिएको जस्तो देखाइएपछि उहाँले आफूले लगाएको नाकको २५० रुपैयाँको फुली बाहेक कुनै सुन नभएको स्पष्ट पार्नुभएको हो।

उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, “फेसबुकभरी मेरो फोटो सुनैसुनले भरिभराउ पारिदिनुभएको रहेछ। तर वास्तविकता के हो भने नाकमा लगाएको २५० को फुलीबाहेक मेरो कुनै सुन छैन।”

मन्त्रिपरिषद्का केही सदस्यहरूको सम्पत्ति विवरणमा सुनको परिमाण उल्लेख भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यंग्यात्मक रूपमा सुनले भरिएका तस्बिरहरू बनाएर विरोध जनाइरहेका छन्। सोही क्रममा सांसद तामाङ पनि ट्रोलको शिकार बनेकी हुन्।

राजनीतिक वृत्तमा भने सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र पारदर्शिताबारे बहस अझ तीव्र बन्दै गएको छ।

यो घटनाले सामाजिक सञ्जालमा फैलिने भ्रामक सामग्री र ट्रोल संस्कृतिबारे पनि प्रश्न उठाएको छ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार  ०८ : ००  बजे