काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले मुलुक र जनताको हितका लागि सबै राजनीतिक दलले दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्यका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्नुभएको हो।
सभापति थापाले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपमा समृद्ध राष्ट्र निर्माणको अभियान सफल बनाउन सबै राजनीतिक दल, जिम्मेवार निकाय तथा सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण तथा सुदृढीकरण गर्नुपर्ने उल्लेख गर्दै भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीहरूलाई एकताबद्ध रूपमा सामना गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको छ।”
नयाँ वर्षले सम्पूर्ण नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाओस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ।
साथै, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
यो सन्देशलाई नयाँ वर्षको अवसरमा राजनीतिक सहमति, सहकार्य र राष्ट्रिय एकताको आह्वानका रूपमा हेरिएको छ।







प्रतिक्रिया