कञ्चनपुर, वैशाख १ । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष २०८३ को पहिलो दिन आज बिसु पर्व धूमधामका साथ मनाइँदै छ। “वर्ष दिनकी एकै बिसुः, बिसुकी घरै नाई” भन्ने लोककथनले यस पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई झल्काउने गर्दछ।
वर्षभरि रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा देशविदेशमा रहेका आफन्तहरू एक दिन भए पनि घर फर्किनुपर्ने मान्यतासहित यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा विशेष चहलपहल देखिएको छ। विशेषगरी भारतबाट फर्कने पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य रहेको सीमा क्षेत्रमा देखिएको छ।
नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने यो पर्व केवल चाडपर्वमा सीमित नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीक का रूपमा स्थापित हुँदै गएको छ।
बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, परिवार र आफन्तसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने परम्परा रहिआएको स्थानीयवासी बताउँछन्। घरघरमा मासु, मालपुवा, खीर, पुरी, बटुक र माणा लगायत मौलिक परिकार तयार पारिन्छ।
यस पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने चलन हो। स्थानीय जनविश्वासअनुसार ब्रह्ममुहूर्तमा स्नान गरे रोगव्याध हट्ने र शरीर शुद्ध हुने मान्यता छ। स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर परिकार खाने परम्पराले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।
बिसु पर्वको सबैभन्दा रोचक पक्ष ‘सिस्नो लगाउने’ चलन हो। विशेषगरी देवर–भाउजूबीच रमाइलो र ठट्टाका रूपमा सिस्नो लगाउने परम्परा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रूपमा चिनिन्छ। यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वाससमेत रहेको स्थानीय संस्कृतिका जानकारहरूले बताएका छन्।
ज्योतिषीय दृष्टिले पनि बिसु पर्वलाई शुभ दिनका रूपमा लिइन्छ। यस दिन विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्यका लागि छुट्टै साइत हेर्नु नपर्ने जनविश्वास रहिआएको छ।
आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू क्रमशः ओझेलमा पर्दै गए पनि बिसु पर्वको मूल सार — परिवारप्रतिको माया, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरता — अझै जीवन्त रहेको स्थानीयवासी बताउँछन्।
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको बिसु पर्वले नयाँ वर्षमा नयाँ आशा, ऊर्जा र उत्साह थपेको छ।







प्रतिक्रिया