एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, २४ जेठ । एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।

समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।

नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  ०६ : ३९  बजे