वीरगन्जमा रास्वपा कार्यकर्ताबीच झडप, जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित

वीरगन्ज, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि चयनको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किँदा कार्यकर्ताहरूबीच झडप भएको छ। घटनापछि जिल्ला अधिवेशनअन्तर्गत चलिरहेको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

वीरगन्ज–९ स्थित एक होटलमा आइतबार हुने जिल्ला अधिवेशनको तयारीस्वरूप शनिबार निर्वाचन प्रक्रिया सञ्चालन भइरहेका बेला पार्टीका दुई पक्षबीच विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै जाँदा कार्यकर्ताहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

झडपमा महादेवप्रसाद कुर्मी, गौतम श्रेष्ठसहित तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नुका साथै लाठीचार्जसमेत गरेको बताइएको छ।

विवादको मुख्य कारण जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया रहेको जनाइएको छ। पार्टीका केही नेता तथा कार्यकर्ताले जिल्ला सभापति तथा सांसद हरि पन्त निकट समूहले विधान र पद्धतिविपरीत आफ्ना समर्थकलाई प्रतिनिधि बनाएको आरोप लगाएका छन्।

यसअघि पार्टीका नेता महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल तथा क्षेत्रीय सभापति राम आर्यसहितको टोलीले मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला अधिवेशन स्थगित गर्न माग गरेको थियो। उनीहरूले प्रतिनिधि चयन प्रक्रिया अपारदर्शी भएको र विभिन्न विभाग गठन तथा प्रतिनिधि मनोनयनबारे स्पष्ट विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका थिए।

ज्ञापनपत्र प्राप्त भएपछि निर्वाचन समितिले केही समयका लागि प्रक्रिया रोकेको थियो। तर पुनः निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय भएपछि विवाद थप चर्किएको बताइएको छ। होटलभित्र सुरु भएको विवाद सडकसम्म पुगेको थियो, जहाँ कार्यकर्ताहरूले एकअर्कामाथि हेल्मेटसमेत प्रहार गरेका थिए।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवका अनुसार वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। अब बाँकी प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

पर्सा जिल्लामा पालिका अधिवेशनदेखि नै देखिएको गुटगत विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप सतहमा आएको छ। एक पक्षको नेतृत्व सांसद हरि पन्तले गर्दै आएको बताइन्छ भने अर्को पक्षमा सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य रहेको बताइएको छ।

यद्यपि, जिल्ला सभापति पन्तले प्रतिनिधि चयन प्रक्रियामा आफूले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै पार्टीको विधान र निर्देशनअनुसार नै प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।

रास्वपा पर्साको नेतृत्व चयनलाई लिएर देखिएको आन्तरिक विवादले जिल्ला अधिवेशनकै वैधानिकता र पार्टीको संगठनात्मक एकतामाथि प्रश्न उठाएको भन्दै राजनीतिक वृत्तमा चासो बढेको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार  १९ : ४३  बजे