काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह ले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाल “प्रयोगशाला मात्र बनेको” टिप्पणी गर्नुभएको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय राजनीति, राज्यपद्धति र शासन प्रशासनमा भएका निरन्तर फेरबदलले मुलुकलाई प्रगतिको बाटोमा अघि बढाउन नसकी उल्टै पछाडि धकेलेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीमा लाग्यौँ। फलस्वरूप देश प्रयोगशाला मात्रै बन्यो।”
शुभकामना सन्देशमा उहाँले विगतका वर्षहरूमा नेपालले अपेक्षित विकास हासिल गर्न नसकेको र नागरिकमा निराशा बढेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार राजनीति र राज्य सञ्चालन प्रणालीमा धेरै परिवर्तन भए पनि ती परिवर्तनहरू राष्ट्रको समृद्धिमा रूपान्तरण हुन सकेका छैनन्।
पूर्वराजा शाहले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको राजनीतिमा बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा लिनुभएको छ। उहाँले युवाहरूको आगमनले राष्ट्र निर्माणमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले देश अहिले आर्थिक संकट, आन्तरिक सुरक्षा चुनौती र सामाजिक विभाजनजस्ता चौतर्फी समस्याबाट घेरिएको उल्लेख गर्दै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “देशको आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकी तथा बाह्य मित्रशक्तिसँगको सहयोग र सद्भाव कसरी बढाउने भन्नेमा ध्यान केन्द्रित हुनुपर्छ।”
साथै, आन्तरिक सुरक्षा प्रणाली कमजोर बनेको उल्लेख गर्दै नागरिकलाई शारीरिक, मानसिक तथा भौतिक सुरक्षाको अनुभूति दिलाउन राज्यले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
निषेध, फुट, द्वन्द्व र विग्रहले राष्ट्रलाई कमजोर बनाउने भन्दै उहाँले राष्ट्रिय एकता, सद्भाव र सहकार्यमा जोड दिनुभएको छ।







प्रतिक्रिया