रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौं, १९ भदौ ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।

कपनस्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गर्दा भण्डारीमाथि करिब ८ बजे आक्रमण भएको रास्वपाका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिएका छन्। उनका अनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए। टाउको र खुट्टामा प्रहार हुँदा भण्डारी गम्भीर घाइते भएका छन्।

टाउकोमा गहिरो चोट लागेर चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारका क्रममा उनको टाउकोमा १० वटा टाँका लगाइएको बोहराले सामाजिक सञ्जालमार्फत बताएका छन्। घटनाबारे र शंकास्पद व्यक्तिबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  ०९ : २५  बजे