पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं,३१ असोज । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। महासङ्घले श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो। जनआस्था साप्ताहिकमा पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा समाचार प्रकाशित भएपछि उजुरी परेको समाचारमा उल्लेख छ।

समाचारप्रति चित्त नबुझे स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत रहेको महासङ्घको ठहर छ।

महासङ्घले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी व्यवहार गरिएको भन्दै भर्त्सना गरेको छ। समाचारसम्बन्धी असमझदारी सम्बन्धित निकायमार्फत समाधान गर्न र आफ्नो क्षेत्राधिकारभित्र प्रभावकारी भूमिका निर्वाह गर्न महासङ्घले प्रेस काउन्सिललाई पनि आग्रह गरेको छ।

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार  १६ : ०६  बजे