पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरो लगियो

काठमाडौं, ३१ असोज । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ।

ब्युरोको टोली शनिबार बिहान श्रेष्ठको नख्खुस्थित निवास पुगेको थियो। ब्युरोका एक उच्च स्रोतका अनुसार उहाँविरुद्ध ठाडो निवेदन परेपछि छलफलका लागि बोलाइएको हो।

समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले शुक्रबार श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिनुभएको थियो। पत्रकार श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरामै निवेदन दिनुभएको थियो। दुवै पक्षलाई राखेर छलफल गराउने तयारी रहेको ब्युरो स्रोतले जनाएको छ।

यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले श्रेष्ठलाई नियन्त्रणमा लिई उहाँको निवासमा खानतलासी गरेको थियो। त्यस क्रममा प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो।

बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको थियो। त्यसपछि उहाँ भदौ १ गते हिरासतबाट मुक्त हुनुभएको थियो।

प्रकाशित मिति: १ कार्तिक २०८३, शनिबार  १२ : ४४  बजे