जनकपुरधाम, ३१ असोज । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका नेताहरूबीच शनिबार भएको छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए।
एक नेताका अनुसार जसपा नेपालको नेतृत्वमा सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएर नयाँ गठबन्धन गठन गर्ने विषयमा छलफल भएको छ।
शुक्रबार एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि नयाँ सत्ता समीकरणको प्रयास सुरु भएको हो।
१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२ र नेपाली कम्युनिस्ट पार्टीका १५ सांसद छन्।











प्रतिक्रिया