सुडानमा पहिरोले गाउँ नै बगाउँदा कम्तीमा हजार जनाको मृत्यु, एक व्यक्ति मात्र बाँचे

काठमाडौँ : सुडानको विद्रोही संगठन सुडान मुक्ति आन्दोलन/सेनाले देशको पश्चिमी भागमा पहिरोका कारण कम्तीमा १,००० जनाको मृत्यु भएको बताएको छ। बीबीसीका अनुसार यो घटना पश्चिमी सुडानको मारा पहाडमा अवस्थित दुर्गम क्षेत्रमा भएको हो। संगठनका अनुसार, धेरै दिनसम्म लगातार भएको भारी वर्षाका कारण अगस्ट ३१ मा पहिरोले तारासिन गाउँको ठूलो भाग नष्ट भएको हो र एक जना मात्र बाँचे।

संगठनले संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थालाई मानवीय सहयोगका लागि अपिल गरेको छ। पहिरो गएको क्षेत्र सुडान मुक्ति आन्दोलन/सेनाद्वारा नियन्त्रित छ। यो संगठन सुडान सेनासँगै अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) विरुद्ध लडिरहेको छ। युद्धका कारण उत्तरी डार्फर राज्यका धेरै बासिन्दाले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए।

अप्रिल २०२३ मा सुरु भएको सुडानको सेना र आरएसएफबीचको गृहयुद्धले देशलाई अनिकालको छेउमा पुर्‍याएको छ र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोप लागेको छ। गृहयुद्धबाट मृत्यु हुनेको संख्याको अनुमान फरक-फरक छ, तर एक अमेरिकी अधिकारीले गत वर्ष २०२३ देखि १.५ लाख मानिस मारिएको अनुमान गरेका छन्। लगभग १ करोड २० लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार  ११ : ५६  बजे